Daindakot Dairy Logo
श्री गैंडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लि.

गैंडाकोट ८, नवलपुर, नेपाल

“स्वस्थ समुदायको लागि शुद्ध दुध र समृद्द किसान हाम्रो प्रतिबद्दता”

Gaindakot Dairy

प्रस्तावना:

गैँडाकोट नगरपालिका–८ स्थित स्थानीय समुदायको आर्थिक, सामाजिक तथा कृषिगत विकास गर्ने उद्देश्यले स्थापना भएको यस संस्था आज “श्री गैंडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लिमिटेड” को रूपमा परिचित छ। केही अग्रज व्यक्तित्वहरूको सामूहिक सोच, मेहनत र सहकार्यबाट सुरु भएको संस्थाले दुग्ध उत्पादन तथा कृषि क्षेत्रमार्फत कृषकहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

स्थापनाकालदेखि विभिन्न चुनौती र उतारचढाव पार गर्दै संस्थाले दुग्ध संकलन, प्रशोधन, बचत तथा सहकारी सेवामार्फत समुदायमा आत्मनिर्भरता, सहकार्य र उद्यमशीलताको भावना विकास गर्न सफल भएको छ। आज यो संस्था स्थानीय कृषक तथा शेयर सदस्यहरूको विश्वासको केन्द्रका रूपमा स्थापित भएको छ।

संस्थाको ऐतिहासिक यात्रा, संघर्ष, उपलब्धि र योगदानलाई स्मरण गर्दै आगामी दिनमा अझ सशक्त र व्यवस्थित रूपमा अघि बढ्ने विश्वास लिइएको छ।

ऐतिहासिक पृष्ठभूभी:
नवलपुर जिल्ला गैडाकोट नगरपालीका वडा नं.-८ स्थित विजयनगर टोल, महेन्द्र राजमार्ग देखी उत्तर तर्फको बसोबास क्षेत्रलाई मानीन्छ । तत्कालीन यस टोललाई करङघारी टोल पनि भनिन्थ्यो । यस टोलमा विशेषगरी आदीवासी, जनजाती, दलित, ब्रहामण, क्षेत्री लगायत विभिन्न जिल्लावाट बसाई सराई गरी आउने समुदायको बाक्लो बसोबास रहँदै आएको छ । यहाँको समुदाय विशेष गरी सामाजिक, शैक्षिक र आर्थिक एवम् चेतना स्तरमा तुलानात्मक रूपमा दक्षिण भेग भन्दा अलि पछाडी परेको अवस्था पनि रहेको थियो । पछाडी परेको समाजलाई सजिलै परिवर्तन गर्न कठिन हुन्छ यधपी समाजका यी विधमान सवै परिस्थितिको बाबजुत पनि समाज विकासको गति निरन्तर अगाडी वढ्दछ भन्ने सिद्धान्त अनुरूप समाजका केही अग्रज बुवा आमाहरुवाट समाजको परिवर्तनको लागी अवाज उठ्न थाल्यो । समाज परिवर्तनको पहिलो रोजाईको क्षेत्र विधालय हुन गयो जसको फलस्वरूप शैक्षिक क्षेत्रको रूपमा २०५१ सालमा विजय प्रा.वि.को स्थापना भयो । आज यो संस्था विजय मा.वि.को रूपमा संचालनमा देख्न सक्दछौ । त्यसैगरी फजुल खर्च कटौती गरी बचत गर्न सहकारी संस्था खोल्ने विषयमा कुराकानी एवम् छलफल चिया दुकानवाट भयो । जसको नेतृत्व गैडाकोट-८ निवासी एवम् दुकान संचालक श्री पुनाराम पौडेलले गर्नुभएको थियो । दुकानमा उपस्थित कृष्ण प्रसाद शर्मा, देवी प्रसाद सापकोटा, डिल्ली राम रिजाल, थानी रत्न कंडेल, पूर्ण प्रकाश पौडेल, चन्द्रमणि पौडेल लगायत अन्य उपस्थित व्यक्तिहरुको सर्मथनमा एउटा सहकारी संस्था खोल्ने निर्णय गरियो र जसको फलस्वरूप वित्तिय कारोवार गर्ने संस्थाको रूपमा श्री किसान बचत तथा ऋण सहकारी संस्थाको जन्म भयो ।

आज यो संस्था नेपालकै एक नमुना संस्थाको रूपमा तपाई हाम्रो माझ क्रियाशिल रहेको छ । यसरी बचत संस्थाको स्थापना पश्चात यस समुदायको लागी आय आर्जनको मुख्य र भरपर्दो स्रोत के हुन सक्दछ भन्ने विषयमा खोजी चासो हुन थाल्यो र छलफलको क्रममा पुनः चिया दुकानमावाटै चिया गफगाफको शिलशिलामा दुग्ध व्यवसायको रूपमा दुग्ध डेरीको स्थापना नै मुख्य आम्दानीको स्रोत बन्न सक्छ भन्ने ठम्माईको साथ कृष्णप्रसाद शर्मा, पुनाराम पौडेल, थानीरत्न कंडेल, देवीप्रसाद सापकोटा, डिल्लीराम रिजालको अगुवाईमा प्रक्रिया अघी बढेको पाईन्छ । दुग्ध सहकारी स्थापनार्थ गरिएको घर दैलो कार्यक्रमको शुरुवातीमै गेडाकोट-८ निवासी पुनाराम पौडेलज्यूबाट दर्ता प्रक्रियाको लागी सहयोग पुगोस भन्ने हौसला स्वरूप आर्थिक सहयोग गर्नुभएको र घर दैलो कार्यक्रम मार्फत शेयर रकम उठाएको पाउछौं । यसरी चिया पसलमा जम्मा भएर गरिएको गफगाफको परिणाम विद्यालय, बचत सहकारीहरूलाई टेवा पुऱ्याउने उद्देश्यले यस संस्थाको स्थापना मूख्य आधार स्रोतको रूपमा देखिन्छ । समुदायको परिवर्तनको लागी यी संस्थाहरुको इतिहास रच्ने हाम्रा आदर्णिय अग्रजहरु प्रेरणका स्रोत, पथ प्रदर्शक र संस्थाको प्रेरणदायी व्यत्तित्वकोरूपमा रहेका छन् । यसरी घर दैलो कार्यक्रम सम्पन्न गरी २०५२ साल भाद्र १५ गते प्ररम्भिक भेला वोलाई भेलावाट तदर्थ समिति गठन, संस्थाको नाम, विनियम तयारी गर्ने निर्णय भएको र उक्त भेलामा करिव ३२ जना महिला पुरुषको उपस्थिति रही तपशिल अनुसारको तदर्थ समिति गठन भएको देखीन्छ । उपस्थितिमा देवी प्रसाद सापकोटा, कृष्णप्रसाद शर्मा, थानीरत्न कंडेल, गिरीवन सन्यासी, गोपालप्रसाद गौतम, बसुन्धरा पौडेल, शशिधर न्यौपाने, टिकाराम सुवेदी, चुडामणि पौडेल, खुमाकान्त पौडेल, कालीका पौडेल, दिपक पौडेल, प्रेम प्रसाद सापकोटा (राजु), टिकाराम सापकोटा, पूर्णप्रकाश पौडेल, नरिश्वर न्योपाने, कालीका पौडेल, दिपक पौडेल, चन्द्र मणि पौडेल, हरिहर पौडेल, कुल प्रसाद पराजुली, गुरुप्रसाद कंडेल र नागरिकता संकलनको क्रममा सहयोगी पात्रकोरूपमा टिकाराम सापकोटाले सहयोग गरेको पाईन्छ । यसको अतिरिक्त रुद्र सापकोटा, प्रेम सापकोटा, पितम्बर सापकोटा, भुमिश्वर सापकोटा, प्रेम प्रसाद सापकोटा, देवी प्रसाद सापकोटा, पशुपति सापकोटा र हरि प्रसाद सापकोटाहरुको साथ सहयोग रही तपशिल अनुसारको तदर्थ समिति गठन भएको पाउछौ ।

तपशिलः
अध्यक्षः श्री देवी प्रसाद सापकोटा, उपाध्यक्ष: गुरुप्रसाद सापकोटा, कोषध्यक्षः कृष्ण प्रसाद शर्मा, सचिव: थानीरत्न कंडेल, सह-सचिवः काशी राम पौडेल, सदस्यः शशिधर न्यौपाने, सदस्यः प्रेम प्रसाद सापकोटा (राजु), सदस्यः श्री वसुन्धरा पौडेल, सदस्यः श्री कालीका पौडेल

यसरी भेलाबाट गठित तदर्थ समितिले संस्थाको नामकरण, विनियम तयारी, दर्ता प्रक्रियाको लागी आवश्यक कागजात संकलन गरी २३ पुरुष, र ३ महिला गरी जम्मा २६ जना सदस्यहरुको समुह मिली २०५२ साल कात्तीक २ गते काठमाडौं ललितपुरको सहकारी विभागवाट विधिवत दर्ता गरी संस्था स्थापना भएको पाउछौं । यो तदर्थ समिति २०५२ साल भाद्र १५ देखी २०५२ साल मंसीर ७ गते सम्म कायम रह्यो भने २०५२ मंसीर ९ गते सोही तदर्थ समितिले प्रथम साधारण सभावाट सम्पन्न गरी पुनः देवी प्रसाद सापकोटाको नेतृत्वमा १० सदस्यीय समिति निवाचित भएको थियो । यसरी स्थापना भएको सहकारी संस्थाको व्यवसयिक कारोवारको शुभारम्भ २०५२ साल मंसिर १६ गते तत्कालिन गैडाकोट आ.गा.वि.स.का अध्यक्ष श्री नविन सागर उपाध्यायको बाहुलीबाट दुधको लिटर समाती संकलन कार्य आरम्भ गरिएको थियो । शुरुवातको दिन कृषकहरुवाट २०० लि. दुध संकलन भएको थियो । यसरी २०० लि. संकलनवाट गरिएको दुधको शुरुवाती केही समयपछि ह्वात्तै वृद्धि भई संस्थागत क्षमता भन्दा बढी संकलन भएको पाउछौ ।

दुध संकलनको यो यात्रा २०५४/०५६ सम्म आई पुग्दा देशकै सवै भन्दा बढी दुध उत्पादन गर्ने संस्थाको रूपना चिनारी दिन सफल भएको पउछौं । २०५४/०५५को अवधिमा थुप्रै रचनात्मक कामहरु पनि भए जसमा संस्थाको लागी घडेरी खरिद गर्ने कार्य, भौतिक पूर्वधार विकासको लागी आवश्यक मेशिन उपकरणहरु (क्रिम सेपेरेटर, मिल्कक्यान, चिलिङ्ग भ्याट) खरिद गर्ने कार्य, पशु स्वास्थ्य एवम् शिक्षा शिविर संचालन र दुध विक्रीको लागी सम्बिन्धित निकायसंग दबाबमूलक कार्यक्रम संचालन भएको र समान हैसियतमा रहेको जनकल्याण दुग्ध सहकारी संस्थासंग एकिकरण प्रक्रिया कार्य सम्पन्न गरी २०५५ साल जेष्ठ १२ गते डिभिजन सहकारी कार्यलय नवलपरासीबाट विधिवत दर्ता गरी गैडाकोट एकिकृत वहुउद्देश्यीय सहकारी संस्थाको रूपमा स्थापना गर्न सफल अनुकरणीय कार्य भएको पाउछौं । यसरी २०५६ सालमा रष्ट्रिय दुग्ध विकास बोर्डबाट नेपाल अधिराज्यमै सबै भन्दा बढी दुध उत्पादन गर्ने संस्थाको रूपमा प्रथम पुरुस्कार प्राप्त गरी राष्ट्रियस्तरमा आफ्‌नो साख वृद्धि गर्न सफल देखिन्छ । २०५३ देखी २०५६ विचको समय संस्थागत विकासको गति तिव्ररूपमा भएको पाईन्छ भने अर्को तर्फ दुधको बजार भने अस्त व्यस्त रह्यो, किनकी देशमा चलेको जन आन्दोलन, बन्द हडताल, चक्काजाम, मिल्क होलीडे जस्ता विकारल स्थिीती देखा पर्यो र कृषकले उत्पादन गरेको दुधको वजार पाउन सकेनन र फलस्वरूप ठूला व्यसायीक किसान यस व्यवसायवाट पलायन हुने स्थिति देखा पर्यो ।

विषम परिस्थितिको बापजुत संस्थागत प्रयास पनि रह्यो । दुधको बजार स्थिति नियमित गर्न दुग्धजन्य परिकार छुर्पी, घिउ, दही, क्रिम, पनिर आदी वस्तुको उत्पादन गरी त्यसको बजारीकरण गर्ने प्रयास गरियो । तर पनि दुधको बजार नियमित गर्न सकिएन । दुधको उत्पादन भने दैनिक ६२०० लि.ले छलाङ्ग मारीसकेको थियो भने दुधको बजार अभावको कारण दुध आन्दोलनको शिलशिलामा कृषकले सडकमा दुध पोख्न बाध्य भए । यस्तो विषम परिस्थिीती २०६२ साल सम्म रहन गयो । २०५६ देखी २०६२ सम्म आई पुग्दा दुधको बजार भने राम्रो हुन नसके पनि संस्थागत विकास एवम् साख र छवि भने उच्च राख्न सफल भएको देखिन्छ । यसै बिचको अवधिमा २०५५ सालमा डाँले घाँस उत्पादनमा जिल्ला स्तरिय प्रथम पुरुस्कार र कृषिको वहुमुखी क्षेत्रमा उल्लेखनिय योगदान गरेवापत २०५९ सालमा राष्ट्रिय सहकारी संघवाट राष्ट्रिय प्रथम पुरुस्कार प्राप्त गरी राष्ट्रिय स्तरमै आफ्‌नो पहिचान दिन सफल देखिन्छ र अन्य संस्थागत विकास पनि सोही अनुरूप भएको देखिन्छ । जसमा एकाघर परिवारका सदस्यहरुको सदस्यता एकिकरण, मिल्क होलीडे कम गर्न दुग्धजन्य पदार्थ उत्पादनमा प्रयास, निकट छिमेकी जिल्ला चितवन नारायणगढ बजारमा दुधको बिक्री कक्ष संचालन एवम् लेखा व्यवस्थापनमा सजिलो बनाउन कम्प्यूटर प्रणालीको शुरुवात गरी संस्थागत विकास दिने प्रयास भएको देखीन्छ यस भन्दा अतिरिक्त पशु स्वास्थ्य कार्यकर्ता तालीम भवन निर्माणको लागी दुग्ध विकास वोर्डसंग कर्जा माग गरि सहकार्य गर्ने, सदस्यहरुले अनिवार्यरूपमा संस्थामा दुध ल्याउन आवश्यक निती निर्माण तयार गरी अगाडी बढाईएको, गैंडाकोट ५ स्थित सरस्वतीचोकमा उपकेन्द्र संचालनमा ल्याउने जस्ता महत्वपूर्ण कार्य भएको देखिन्छ ।

२०६२ सालमा यस संस्थाको आयोजनामा गरिएको छिमेकी मूलुक भारतको आमुल डेरीको सफल भ्रमण पश्चात सहकारी किराना पसलको शुरुवात गरियो र हाल सम्म यो पसल संचालनमा रहेको छ । यसरी यो संस्था यस अवधिसम्म आईपुग्दा अनेकौं समस्याहरुको सामना गर्दै, उकाली ओराली, अप्ठ्यारा घुम्ती, मोडहरुको यात्रा तय गरेको पाउछौं । २०७२ सालको सफल जनआन्दोलन पश्चात् दुग्ध व्यवसायमा लाग्ने दुग्ध सहकारीहरुको लागी अति उत्तम समय रहन गयो । देशमा चलिरहेको जनयुद्धको अन्त्य, न्युन चक्का जाम, बन्द, हडताल, यातयात क्षेत्रको विकास, राज्यबाट मिल्क होलीडे नहुने घोषणा आदी ईत्यादी कारणहरु अन्त्य भई दुधको वजार क्षेत्र राम्रो हुन गयो जसको फलस्वरूप पुनःपशुपालन क्षेत्रमा लाग्ने कृषकहरु क्रियाशिल हुन थाले । थोरै संख्यामा भए पनि केही पशु फर्महरु पनि स्थापना भई दुधको उत्पादनमा उल्लेखनिय वृद्धि भएको अवस्था देखिन्छ । यो अवस्था २०६२ साल देखी २०६६ सालसम्म भएको पाउदछौं । भने अर्को तर्फ वस्तुको लागी प्रयोग हुने पशुआहार (दाना, चोकर ढुटो, पराल) आदीको वढ्दो मूल्य वृद्धिले किसानहरुलाई पुनः मार खेप्नु पर्यो । मंहगीले कृषकले उत्पादन गरेको दुधको लागत मूल्य पनि उठन् सकेन र गरिरहेको आफ्‌नो पेशाप्रति कृषकहरुले पुनः सोच्न वाध्य भए । फलल्स्वरूप दुध उत्पादनमा क्रमश: कमी हुन थाल्यो ।

गैंडाकोट एक त जनसंख्याको हिसाबले बढी चाप भएको क्षेत्रको रूपमा मानीन्थ्यो र पछी नगरपालीका घोषाणा पश्चात बढ्दो जनसंख्या र तिव्र शहरीकरणले यहाँको जमिन खण्डीकरण भई कृषि उत्पादन क्षेत्र साँघुरो हुन पुग्यो । चक्ला फराकिला फाँटहरुको अभावमा यहाँ ठुला व्यवसायीहरुको संख्या बढ्न सकेन र दुधको उत्पादन स्थिर रह्यो । दुधको बजार राम्रो भए पनी लागत मूल्य बढी पर्न थालेपछी यस पेशामा खासै आर्कषण भएन । यो अवस्था ०६६/०६७देखी हाल ०७५/०७६ सम्म कायमै भएको देखीन्छ । ०६९/०७० को अवधिमा यस संस्थावाट व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) संगको साझेदारीमा दुग्ध व्यवसाय प्रवर्द्धन, प्रशोधन परियोजना संचालनको लागी संस्थाले दुई वर्षको अवधि भित्र सम्पन्न गर्ने गरी करिव ९३ लाख बराबरको परियोजना संझौता भई आ.व. ०७२/०७३ मा सम्पन्न गरिसकिएको छ । यस परियोजनावाट संस्थालाई आवश्यक पर्ने भौतिक पूर्वधार अर्न्तगत उघोगको लागी प्लान्ट हाउस (भवन), दुग्ध प्रशोधन उपकरण, गाडी लगाएत अन्य साधनहरु जुटाउन सफलता मिलेको छ । यि पूर्वधारहरुको उचित व्यवस्थापन गर्न एउटा व्यवसायिक कार्ययोजना समेत तयार भएको हुँदा आगमी दिनहरुको लागी कृषक तथा संस्थाको भविश्य सुन्दर छ भन्ने कुरा हामीलाई लागेको छ ।

राज्यबाट बेला बेलामा गरिएको मूल्य वृद्धि गरिए पनि मुल्य वृद्धि संगै पशुआहारको अत्यधिक मूल्य वृद्धि हुँदा किसानलाई खासै दुधको व्यवसायबाट आत्मनिर्भर हुन सकेन र व्यवसायको विकल्प खोजीन थालीयो । परिमाणतः रोजगारीको लागी युवा जती सबै विदेश र बुढा बुढी र कमजोर युवा शक्ति जति यस पेशामा सग्लग्न हुनु पर्ने हालको यसअवस्थाले पेशा नै संकटमा पर्ने देखिन्छ । पेशालाई मर्यादित, आत्मनिर्भर र जीवन निर्वाहको मूख्य पेशाको रूपमा अगाडी वढाउन सरकारी, सहकारी र निजी क्षेत्रको महत्वपूर्ण भुमिका हुने गर्दछ यस अर्थमा राज्यको तीन खम्वे अर्थव्यवस्स्थाको एउटा खम्बा सहकारी पनि हो । समुदायमा संचालित सहकारी संस्थारु मध्ये दुग्ध सहकारीले खेलेको भूमिका ज्यादै महत्वपूर्ण रहेको छ ।

संक्षिप्त परिचय

श्री गैंडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लिमिटेडको संक्षिप्त परिचय निम्नानुसार प्रस्तुत गरिएको छः

🏢 दर्ता विवरण

  • दर्ता नं.: ७८/०५४/०५५
  • दर्ता मिति: २०५५/०२/१२
  • कार्यक्षेत्र: गैंडाकोट नगरपालिका, नवलपुर

👥 शेयर सदस्य विवरण

  • कुल शेयर सदस्य: ५९९
  • पुरुष सदस्य: ५२५
  • महिला सदस्य: ७२
  • संस्थागत सदस्य: २

💰 आर्थिक अवस्था

  • शेयर पूँजी: रु. ४८,९९,८००।-
  • लगानीमा रहेको ऋण: रु. ४६,६१,१०५।-
  • कुल बचत: रु. १,१७,५८,५६१।-
  • तरलता प्रतिशत: औसत ४.३%
  • जम्मा ऋणी संख्या: ४१ जना

👨‍💼 व्यवस्थापन विवरण

  • वर्तमान कार्यसमिति निर्वाचित मिति: २०८०/१०/०३
  • कार्यकाल: ४ वर्ष
  • पछिल्लो साधारण सभा सम्पन्न मिति: २०८२/०८/२३
  • कार्यसमिति सदस्य संख्या: ११ जना
    • महिला: ३ जना
    • पुरुष: ८ जना

📊 सामाजिक गतिविधिहरू

  • उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम
  • उत्कृष्ट उपभोक्ता पुरस्कार कार्यक्रम
  • पशु प्रजनन् सेवा सञ्चालन
  • रक्तदान कार्यक्रम
  • चौरासी पुजन कार्यक्रम
  • समवेदना (सामाजिक सहयोग) कार्यक्रम

📞 सम्पर्क विवरण

  • अध्यक्ष: श्री अगन्धर सापकोटा – मो.: ९८४५०५००७८
  • व्यवस्थापक: चन्द्रमणी पौडेल – मो.: ९८४५०५०५४९

संस्थाको हालको अवस्था, आर्थिक व्यवस्थापन, जनशक्ति र भौतिक पूर्वाधार

श्री गैंडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लिमिटेड हाल व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ। संस्थाको वर्तमान अवस्था निम्नानुसार बुँदागत रूपमा प्रस्तुत गरिएको छः

👥 जनशक्ति तथा व्यवस्थापन

  • संस्थामा हाल ११ जना कर्मचारी कार्यरत रहेका छन्।
  • विनियम अनुसार संचालक समिति, लेखा समिति तथा सल्लाहकार समिति गठन गरिएको छ।
  • खरिद–बिक्री, ऋण, शिक्षा, शेयर वृद्धि लगायतका उपसमितिहरू गठन भई कार्य सम्पादन हुँदै आएको छ।

🥛 सञ्चालन अवस्था (दूध संकलन तथा बिक्री)

  • केन्द्र सहित ४ वटा उपकेन्द्रमार्फत दैनिक बिहान र बेलुकी गरी २ पटक दूध संकलन हुँदै आएको छ।
  • काँग्रेसचोक डिपोबाट बिहानदेखि साँझसम्म दूध तथा दुग्धजन्य पदार्थको निरन्तर बिक्री–वितरण भइरहेको छ।

💰 आर्थिक व्यवस्थापन

  • दोहोरो लेखा प्रणालीअनुसार सफ्टवेयरमार्फत वैज्ञानिक लेखाङ्कन प्रणाली लागू गरिएको छ।
  • आर्थिक कारोबारलाई पारदर्शी र प्रभावकारी बनाउन समयानुकूल नीति निर्माण तथा संशोधन गरिँदै आएको छ।
  • आंशिक रूपमा बचत संकलन तथा ऋण लगानी कार्यक्रम सञ्चालन भइरहेको छ।
  • शेयर सदस्यबाट मासिक रु. १०० बचत संकलन गरिन्छ।
  • संकलित बचतमा वार्षिक ७% ब्याजदरले ६/६ महिनामा ब्याज भुक्तानी गरिँदै आएको छ।
  • सदस्यहरूलाई गोठ निर्माण, पराल खरिद तथा पशुपालनका लागि रु. १०,००० देखि रु. ५,००,००० सम्म सरल ब्याजदरमा ऋण सुविधा प्रदान गरिँदै आएको छ।

🏢 भौतिक पूर्वाधार

  • पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको दुई तले पक्की भवन रहेको छ।
  • PACT परियोजनाको सहयोगमा प्लान्ट हाउस (उत्पादन कक्ष) निर्माण गरिएको छ।
  • दूध प्रशोधन तथा उत्पादनका लागि आवश्यक उपकरणहरू उपलब्ध छन्, जसमा:
    • विद्युत जेनेरेटर
    • चिलिङ भ्याट
    • खुवा मेसिन
    • क्रिम मेसिन
    • पनिर फर्मा आदि

📌 समग्र अवस्था

  • संस्था दूध व्यवसायसँगै सहकारी वित्तीय सेवा समेत सञ्चालन गर्दै आएको छ।
  • आधुनिक प्रविधि र पूर्वाधार प्रयोग गर्दै संस्था आत्मनिर्भर र व्यवसायिक दिशातर्फ अग्रसर छ।

प्रिय शेयर सदस्यज्यूहरू, किसान दाजुभाइ तथा दिदीबहिनीहरू तथा शुभेच्छुक महानुभावहरू,

श्री गैंडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लि. किसानहरूको आर्थिक तथा सामाजिक उन्नतिका लागि २०५२ सालदेखि निरन्तर क्रियाशील रहँदै आएको संस्था हो। स्थानीय स्तरमा उत्पादन हुने दूधको संकलन, उचित व्यवस्थापन तथा किसानलाई उचित मूल्य उपलब्ध गराउने उद्देश्यले स्थापना भएको यस संस्थाले दुग्ध व्यवसायसँगै पशुपालन तथा कृषि क्षेत्रमा आवश्यक दाना, चोकर, घाँसको बीउ वितरण गर्दै आइरहेको छ साथै पशुहरूको कृत्रिम गर्भाधान सेवा समेत प्रदान गर्दै आएको छ।

संस्थाले आगामी दिनमा दूध प्रशोधन तथा प्याकेजिङ्गमार्फत उपभोक्ताको घरदैलोमा गुणस्तरीय दुग्धजन्य पदार्थ पुर्‍याउने लक्ष्य लिएको छ। साथै किसानमैत्री कार्यक्रम, प्रविधि विस्तार, बचत तथा ऋण व्यवस्थापन, संस्थागत सुदृढीकरण तथा समान उद्देश्य भएका संस्थासँग सहकार्य र एकीकरणलाई पनि प्राथमिकतामा राखिएको छ।

संस्थाप्रति यहाँहरूको विश्वास, सहयोग र सुझाव नै हाम्रो प्रेरणा हो। आगामी दिनहरूमा संस्थालाई अझ पारदर्शी, प्रभावकारी र किसानमुखी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।

धन्यवाद।

अगन्धर सापकोटा
अध्यक्ष

Gaindakot Dairy Goal

हाम्रो लक्ष्य

किसानहरूको आर्थिक उन्नतिका लागि गुणस्तरीय दुग्ध तथा दुग्धजन्य पदार्थको उत्पादनलाई बजारसम्म पुराउनु।

Gaindakot Dairy Vision

हाम्रो दृष्टिकोण

नवलपुर जिल्लाको अग्रणी स्वेत आदर्श सहकारी संस्थाको रूपमा स्थापित हुनु।

Gaindakot Dairy Values

हाम्रो मूल्य

इमानदारी, पारदर्शिता, सहकार्य र समुदाय केन्द्रित सेवामा हाम्रो विश्वास।

Scroll to Top